दफा ३६
सम्पत्ति रोक्का वा जफत जफत गर्ने
(१) विदेशी राज्यबाट दफा २३ बमोजिम नेपालमा रहेको कुनै सम्पत्ति रोक्का वा जफत गर्न अनुरोध भई आएमा अदालतले प्रचलित नेपाल कानून बमोजिम सम्पत्ति रोक्का वा जफत गर्न सम्बन्धित निकायलाई आदेश दिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि जुन कसूरको सम्बन्धमा सम्बन्धित व्यक्तिको सम्पत्ति जफत गर्न आदेश जारी भएको हो त्यस्तो व्यक्तिले तिर्नु पर्ने रकम तिरी सकेको वा तिर्न नसकेकोमा सो रकम बराबर कैद सजाय भोगी सकेको भन्ने कुरामा अदालत विश्वस्त भएमा अदालतले सम्पत्ति जफत गर्ने आदेश दिने छैन । तर कसूर गरी प्राप्त भएको रकम वा कसूर गर्न प्रयोग भएको सम्पत्ति भए जफत गर्नु पर्नेछ ।
(३) जफत गर्ने सम्पत्तिको मूल्य नेपाली मुद्रा बाहेक अन्य मुद्रामा उल्लेख भएको भए यस ऐन बमोजिम विगो कायम गर्ने प्रयोजनको लागि दफा २९ बमोजिम अदालतमा निवेदन दर्ता भएको दिनको नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमय दरको आधारमा सो मूल्यलाई नेपाली मुद्रामा परिणत गरिनेछ ।